कानून होइन हामीलाई मानबता चाहिन्छ

Friday, February 6, 2015 0 comments

 समयको रफ्तारमा आफ्नो सम्भ्यतालाई परिस्कृत गर्दै आजको मान्छेले आफ्नो विकासका चक्रहरूलाई गन्नै थालेको पनि आज झन्डै एक्काइस सय वर्ष पुरा भैसकेको छ । विभिन्न युग र कालखण्डमा विभिन्न विकासका चरणहरू पार गरेको यही मान्छे आजको दिनमा आउदा आफूलाई सो कल्डसामाजिक प्राणी ठान्दछ । मान्छेले विकास र सभ्यताको नाम दिएर भूगोलका सीमानाहरू कोर्याे । संस्कार र अनुशाशानको लागि भन्दै धर्म र संस्कृतिका रेखाहरू तयार पार्याे । सबैभन्दा खतरा कुरा त सहजता र सुबिस्ताको नाममा धन सम्पतिको आविष्कार गर्याे । सबै कुराको सुखभोग गर्ने क्रममा मान्छे आफ्नो नामको लोभी बन्न पुग्यो । यसकारण बिस्तारै भूगोलका सीमानाहरू मनका सीमानाहरूमा परिणत हुन थाले । हिजो अनुशासनका नाममा कोरिएका धर्मका रेखाहरू बढेर एकले अर्काेलाई छेक्ने दम्भ र घमण्डको पर्खाल बन्न थाले । सुबिधाको लागि बनाएको धन सम्पति वर्ग बिबेदको आधार बन्न पुग्यो । बिस्तारै मान्छेलाई सबैभन्दा मन नपर्ने मान्छे नै बन्न थाले । युद्दको सुरुवात भयो । 


हिजो जंगलमा हुदा मुद्दती खातामा राखेको मनबता मान्छेले बिस्तारै बचत हुदै चल्ति खातामा जम्मा गर्न थाल्यो । विकास र मानवताको सम्बन्ध ठ्याकै रेसिप्रोकलहुन पुग्यो । मान्छेले यो कुरा अलिकति थाहा पाए जस्तो पनि गर्याे र मानवअधिकारका कुराहरू उठाएर हात्तिको देखाउने दाँत जस्ता धेरै संगठन खोल्यो । दुर्भाग्य यो छ जुन देशमा मानबअधिकार सम्बन्धि संस्था धेरै छन् त्यही देशमा सबैभन्दा बढी विभत्स हत्या र क्रुर अपराध हुन्छ । जसले मानवताको कुरा सबैभन्दा बढी उठाउछ उसले नै सबैभन्दा धेरै मानवताको शिकार गर्छ ।

मैले यहाँ यसरी भूमिका बाध्नुको कारण पछिला दिनमा हामीले सुनिएको लगातारका ज्यादै बिभत्स र पीडादायी समाचार माथिको विश्लेषणमा सजिलो होस् भनेर हो । पछिल्लो समय दुई तीन वटा लगातारको घटनाले मेरो दिमागको सम्बेदना बोक्ने एउटा तन्तुमा नराम्रोसँग हिर्काएको छ । अत्यन्तै ताजा अवस्थामा पाकिस्तानमा भएको झन्डै डेढ सय विद्यार्थीको विभत्स हत्या होस् या अलि पुरानो निरन्तर बाबु र हजुरबाबाट बलात्कारको शिकार बनेकी काभ्रेकी युबतीको घटना होस् । यी दुवै मानवियताको दृष्टिकोणमा अत्यन्तै क्रुर र भयानक अपराध हुन् । हुन त अहिले मिडियाका केही पृष्ठ र समय पूजा बोहोराका विषयले तातेका छन् । धेरैले आँशु पनि खसाल्नुभएको छ तर पिडित भित्रको पनि पिडित छान्ने हो भने, मलाई काभ्रेको घटनाका पीडकहरू बढी पीडक लाग्छन् । एउटा गीत छ नि दुख्दैन त्यति पराईले दुखाएको घाउ आफन्तिले दुखाए जस्तो ।

अलिक पुरानो दिल्लीको सामुहिक बलात्कारको घटनाले पनि विश्वलाई नै एकपटक सोच्न बाध्य बनाएको थियो । टाइम्स अफ इन्डियाको सर्वेक्षण अनुसार प्रत्यक दिन भारतमा त्रियानब्बे महिलाको आउटडोर रेपहुने गर्दछ । यसमा डोमेस्टिक रेपको डाटा पनि जोड्यो भने यो रेट सयको अनुपातमा बढ्ने निश्चित प्राय छ । यसकारण यी हामीले बाहिर सुन्नमा आएका केवल केही प्रतिनीधि घटनाहरू मात्र हुन् । यस्ता धेरै घटनाहरू भित्र लुकेर बसेका छन् जुन हामीले सुन्न समेत गाह्रो हुन्छ । आज अलिकति मिडियाको पौचँ बढेकोले यस्ता केही घटना बाहिर आएका छन् तर यो बाहिर आउनुपर्ने को तुलनामा ज्यादै न्यून छ । मुस्किलले चार पाँच प्रतिशत घटनाभन्दा बढी बाहिर आउन सकेका छैनन् ।

हाम्रोमा एउटा मज्जाको बानी छ । मान्छे घटना घट्नु पूर्व पनि त्यति सचेत हुदैन, उसलाई घटना किन घट्यो भन्ने प्रति पनि त्यति चासो रहदैन, घटनाको मुख्य दोषी को हो पनि थाहा हुदैन । मात्र उसले यत्ति जानेको हुन्छ दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, झुन्ड्याउनु पर्छ, चिसो सिँढीमा सुताउनुपर्छ, जेल हाल्नुपर्छ । यस्तै यस्तै । तर कानून कहिल्यै पनि मानवताभन्दा माथि हुन सक्दैन । मान्छेलाई बाध्ने सबैभन्दा ठुलो कानून नै उसको मन भित्र उत्पन्न हुने मानवताको भावना हो ।

हिजो दिल्ली बलात्कार प्रकरणका चारै जना दोषी बिरुद्द भारत सरकारले फाँसिको सजाय सुनायो तर के आज भारतमा बलात्कारको घटना रोकिएको छ ? हिजो हाम्रो कानूनले पनि पूजा बोहोराका पीडक बिरुद्द जेल सजाय सुनायो के आज उनीहरू जेलमा छन् ? अझ भनांै उनीहरू जेल गएको खबरले कहाँ कुन बलात्कारीले बलात्कार गर्न लाग्दा यो सम्झेर आत्मग्लानिको महसुस गर्याे ? हामीहरू कुन कानून को आज कुरा गरिरहेका छौ । त्यो कानून ? जसले हिजो नरपिचासको हत्या गरी उसको कालो पन्जाबाट आफूलाई छुटाएकी रिहनाको फाँसीमा चढाएर हत्या गरायो । यहाँ आफ्नै बाउ र दाजुको भर गर्न नसकेकी चेलीलाई देशको कानूनले भरोसा दिन्छ भन्ने कुन ग्यारेन्टी छ ? कानून र विधान भनेका त केबल विश्वासको कागजी रुप मात्र हो । जब मान्छे मान्छे बिचका विश्वासका पर्खालहरू भत्किदै जान्छन न त त्यहा कुनै कानूनले काम गर्छ न त त्यहाँ कुनै कारबाहीले काम गर्छ ।

पाकिस्तानका ती अबोध बालबालिकाहरू के कानून नभएर मारिएका होलान ? उनीहरू त मनबता नभएर मारिएका हुन् । बिद्रोहीे आतंकवादी जसले उनीहरूको हत्या गरे उनीहरूले भनेका छन्, “सेनाले हाम्रा मान्छे मार्याे हामीले उनीहरूका छोरा छोरी मारिदिएउ ।जब मान्छेले आफू भित्रको मनबतालाई मारेर विद्रोहको ज्वाला मनमा दन्काउछ तब ऊ मान्छे रहदैन एउटा रोबटमा परिणत भैसकेको हुन्छ । रोबटको कुनै आत्मा हुदैन । उनीहरूको लागि उनीहरूको धर्म नै सबैभन्दा ठुलो कानून हो । उनीहरूले आफ्नो धर्मको लागि जुन अपराध गरे के उनीहरूको ईश्वरले यो अपराधको लागि माफि गर्देलान ? के उनीहरूको ईश्वर यो बाट खुशी होलान ? यो एउटा उदाहरण काफि छ, आजको एकथरी मान्छेको समूह आफ्नो कानून बचाउनको लागि मनवता मारेर अपराध गरिरहेको छ ।


जहाँसम्म बलत्कारको सन्दर्भ छ । कुनै पनि व्यक्ति कसैलाई बलत्कार गर्ने सोच दिमागमा आउने बित्तिकै उसले आफूलाई मान्छेबाट राक्षसको रुपमा परिणत गरिसकेको हुन्छ । जब ऊ भित्र प्रवेश गरेको राक्षसको भुत उत्रिन्छ अनि सायद उसले आफूलाई संसारको सबैभन्दा बढी दोषी महसुस गर्छ । अलि पहिला कभ्रेकै एउटा घटना बाहिर आएको थियो, ‘नातिनीले बलात्कारको आरोप लगाएपछि हजुरबाले बिष सेवन। यो मात्र होइन अरु पनि धेरै घटनाहरू छन् जहाँ बलात्कारी स्वयम्ले नै आत्महत्याको प्रयास गरेका छन् र कति त आत्महत्या नै गरेका छन् ।

 अब हामीले सोच्न पर्ने कुरा के हो भने हाम्रो समाजका कुन कुन संस्कार र प्रवृतिहरू छन् जसले एउटा सामान्य मान्छेलाई राक्षस बनाइराखेका छन् । पुरुषहरू कुन कारणले आफ्नो यौन उत्तेजनालाई नियन्त्रण गर्न सकिराखेका छैनन् ? हर्वाड विश्वविद्यालय को एउटा अनुसन्धानले बताए अनुसार खुकुलो कपडा लगाउनेभन्दा कसिलो कपडा लगाउने युवा युबतीहरू बलात्कारको घटनामा (पीडक र पिडित दुवै बनेर) बढी मुछिएका रहेछन । यसको अर्थ मैले भोलिबाट सबैले खुकुलो कपडा लागेर हिड्नुपर्छ भन्न खोजेको होइन तर हाम्रो समाजका यस्ता गौण मनोबैज्ञानिक कारणहरूलाई पनि हामीले अध्ययन गर्नुपर्छ । कतिपय हाम्रा धार्मिक र साँस्कृतिक पुस्तकका भनाइहरू दुइटा अर्थ लाग्ने खालका छन् । त्यसको एउटा अर्थ महिलालाई ज्यादै तुक्ष देखाउने खालको छ ।यसको कारण पनि पुरुष मनोवृतमा राक्षसी प्रवृतिको हाबी हुनसक्छ । हामीले समाजमा कानून र कारबाहीभन्दा पनि यस्ता कुराहरूलाई आधार मानेर प्रौण शिक्षा सँगसँगै नैतिक र मानवताको शिक्षा सिकाउन सक्छौं । एउटा नैतिक र आदर्श परिवारमा हुर्केको सन्तान तुलनात्मक रुपमा राक्षस बन्ने सम्भावना पनि कम नै हुन्छ ।

त्यसकारण अपराध गरिसकेका अपराधीहरूलाई फासी र जेलको सजायभन्दा पनि उनीहरूलाई अनुसन्धानको माध्याम बनाएर, किन त्यो मान्छेमा त्यस्तो चरित्रको विकास भयो भन्ने कुराको अध्यायन गर्न सकिन्छ । उनीहरूमा मनबता शुन्य हुनुको कारण पत्ता लगाउन सकियो भने भोलि समाजलाई त्यही अनुसार परिस्कृत गर्न सकिन्थ्यो । यति भयो भने भोलि हुने बर्बादीको संख्या मा उल्यख्य कमि आउन सक्छ  । एउटा अबोध नारी बलात्कृत हुने प्रवृति कम हुन्थ्यो । देशले एउटा युवाको रचनात्मकता गुमाउनु पनि पर्दैनथ्यो ।


हाम्रो जस्तो देशमा यस्ता कुरा सुन्दा अचम्म र हाइपोथेटिकललाग्न सक्छ तर एउटा सत्य कुरा के छ भने कानून कडा भएको देशमा भन्दा नागरिक इमान्दार भएकै देशमा विकासको स्थिति राम्रो छ । तुलनात्मक रुपमा यस्ता देशमा विभत्स अपराध पनि कम हुने गरेको देखिन्छ ।

अन्तमा, कानूनले भैतिक परिधिको निर्माण गर्छ भने मनवताले मनको परिधिको निर्माण गर्छ । मान्छेलाई पिंजडा भित्र राखेर नैतिकताको पाठ सिकाउन खोजियो भने कुनै दिन पिंजडा बाहिर आउदा ऊ जति हिंस्रक अरु कोही हुदैन । कानून पिंजडा हो भने मनबता खुला आकाश हो जहाँ बसेर नैतिकताको पाठ सिकियो भने भोलि पिंजडाको आवश्यकता रहदैन ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage