"तपाँइ इन्जिनियरीङ्गको विद्यार्थी कसरी साहित्यतिर लाग्नुभयो त ?” साहित्यमा
लागेको इन्जिनियरीङ्गको विद्यार्थी ले सायद आजसम्म यो प्रश्न आफ्नो कुनै पनि
अन्तरवार्तामा गुमाएको छैन होला । म स्वयमं पनि इन्जिनियरीङ्गको विद्यार्थी हुनुको नाताले आजसम्म धेरै ठाउँमा यो प्रश्नको
सिकार भएको छु ।
यसबाट हामीकहाँ साहित्यलाई प्राविधिक रुपमा स्वीकार गर्न आजका
दिनसम्म पनि गाह्रो परिरहेको कुरा स्पष्ट हुन्छ । विज्ञान र प्रविधि भनेको ढुंगाको
मन हुनेहरूले पढ्ने कोरा व्यवहारीक विषय हो भन्ने मान्यता आजसम्म पनि रहेको छ,
तर
वास्तवमा कुरा त्यस्तो होइन, प्रविधि पनि एउटा कला हो । अझ यसमा
पनि इन्जिनियरीङ्ग त झन् कल्पना शक्तिको
एउटा व्यवहारिक प्रयोग हो । जुन धेरै दृष्टीकोणबाट साहित्यको नजिक छ । कुनै पनि घर
बनाउन देखि कुनै पनि विधुतीय सामानको निर्माणको लागि पहिला त्यस्को एउटा “ब्लु
प्रिन्ट” आवश्यक पर्छ जुन केबंल व्यक्तिको कल्पना शक्तिको प्रयोगले मात्र
सम्भब छ । साहित्य पनि कल्पनाको एउटा सिर्जना हो ।
नेपाल बाहिरका केही प्रसंगको चर्चा गरौं : ‘लियो नार्दो दा
भिन्ची’ एक जना कुशल कलाकार थिए, साथमा उनका केही साहित्यिक सिर्जनाहरू
पनि पढ्न पाइन्छ । उनले आकाशमा उडिरहेको चरालाई हेरेर हवाईजहाजको कल्पना गरेका थिए
। त्यसको केही वर्ष पछि जहाजको निर्माण गरियो । यस सम्बन्धी इन्जिनियरीङ्गलाई
एरोनोटिक्स इन्जिनियरीङ्ग भनेर नामकरण गरियो । आज पनि भिन्चीलाई एरोनोटिक्स
इन्जिनिरहरू गुरु ठान्ने गर्छन । यसले इन्जिनियरीङ्गको सुरुवाती सम्बन्ध कला र
साहित्यसँग प्रगाढ देखाउछ ।
मात्र एक वर्ष अगाडिको कुरा, अमेरिकामा
राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा “एक आज” भन्ने कविता
सुनाएका कवि ‘रिचार्ड ब्लान्चो’ ले अमेरिकाको “उत्कृष्ट
वास्तविक कविता सम्मान” पाएका थिए । उक्त सम्मान पाउने उनी अमेरिकाका
पाँचौ व्यक्ति हुन् । ४४ वर्षीय सिभिल इन्जिनियर रिचार्ड २२ वर्ष को हुँदा देखि
सडक विभागमा कार्यरत थिए ।
भारतका चर्चीत कवि तथा राजनीतिज्ञ कुमार विश्वास पेसाले
मेकानिकल इन्जिनियर हुन् । उनका धेरै कविता र सायारीका पुस्तकहरू प्रकाशित छन् ।
त्यस्तै भारतकै मध्य प्रदेश को इन्दोरमा बस्दै आएका चर्चीत गजलकार ‘चन्द्र
शेन बिराट’ पेशाले इन्जिनियर हुन् तर उनी बिशुद्द हिन्दीमा
गजल लेख्ने गजलकारका रुपमा भारतमा प्रख्यात छन् । उनका “निर्बसना चाँदनी”,
“धारके
बिपरित” लगायत ७ ओटा गजलसंग्रह प्रकाशित छन् । भारतकै एकजना इन्जिनियर
बालागुरुस्वामी कम्प्यूटर प्रोग्रामिङ्गको क्षेत्रमा एउटा चर्चीत नाम हो उनका
प्रोग्रामिङ्ग संबन्धि पुस्तकहरू विश्वभरी अत्याधिक बिक्रि हुने पुस्तक मध्य पर्छन
। स्वामी साहित्य तथा दर्शनका पनि ज्ञाता मानिन्छन्, उनका धेरै
दार्शनिक आलेखहरू प्रकाशित छन् ।
देवकोटाले “उदेश्य के लिनु उडी छुनु चन्द्र एक” भनिसकेपछि नै इन्जिनियरहरू चन्द्रमामा जाने योजनामा लागेका हुन् भन्ने किस्सा पनि यदाकदा सुन्न पाइन्छ, अहिले यसको सत्यता खोज्नतिर नजाउ, के मात्र भन्न खोजेको भने इन्जिनयरहरू आफू भित्रको साहित्यिक मनले दिएको उदेश्य प्राप्ति गर्न इन्जिनियरीङ्ग मनको प्रयोग गर्ने गर्छन । यसकारण पनि सफल इन्जिनियर हुन मन साहित्यिक हुन जरुरी रहन्छ ।
नेपाल भित्र पनि
साहित्यमा लागेका धेरै इन्जिनियरहरू छन् । कतिले आफ्नो इन्जिनियर परिचय लुकाएका
छन् भने कतिको साहित्यकार परिचय त्यति देखिएको छैन । नेपालमा स्वयमं
इन्जिनियरीङ्गकै इतिहास लामो नभएका कारण इन्जिनियर साहित्यकारहरूको त्यस्तो कुनै
उल्लेखनीय इतिहास नहुनु स्वभाविक हो तर सधै भरि मरेको इतिहासको ब्याजबाट चल्नु
पर्छ भन्ने पनि त होइन । वर्तमानको चस्मा लगाएर हेर्ने हो भने धेरै इन्जिनियरहरू
नेपाली साहित्यमा अनबरत रुपले लागिरहेका छन् । यहाँ नेपाली भाषा अध्यापन गराइने
क्याम्पसमा बरु साहित्यिक संघ संस्था क्रियाशील नहोलान् तर प्रत्यक जसो इन्जिनियरीङ्ग क्याम्पसहरूमा साहित्यिक
संस्थाहरू क्रियाशिल छन् । विशेष गरेर इन्सास नेपाल र इन्सास पोखरा ट्याकै देखिने
गरेर यतिबेला आ–आफ्नो क्षेत्रमा साहित्यिक गतिबिधि संचालन
गर्दै आएका छन् ।
यसै सन्दर्भमा १/२
महिना अगाडिको एउटा प्रसङ्ग सम्झन्छु, लम्जुङ्ग महोत्सबमा कविता प्रतियोगिता
भएको थियो । जुन प्रतियोगितामा उत्कृष्ट ५ मध्यका ३ जना इन्जिनियरीङ्ग पढ्दै गरेका विद्यार्थी थिए ।
यसबाट पनि के कुरा स्पष्ट हुन्छ भने नेपाल भित्र आजलाई प्रतिनीधित्व गर्ने
साहित्यमा लाग्दै गरेको एउटा पुस्ता इन्जिनियरीङ्गमा पनि आबद्ध छ । यति हुदा हुदै
पनि इन्जिनियरीङ्ग सँगसँगै साहित्यमा
लागेकाहरूको निरन्तरताको प्रश्न बारबार उठ्ने गर्छ । प्रश्न उठाउनेहरूले के बुझ्न
जरुरि छ भने इन्जिनियरहरू स्वभावले सधै साहित्यकार नै हुन्छन् कोही शब्दमा
उतार्नतिर पनि लाग्छन त बाँकी धेरै रेखा र गणितमा आफ्नो कवितात्मकता पोख्ने गर्छन
।
गुलियो चिनी मन
पराउने व्यक्तिलाई त्यसको बिपरित स्वाद भएको तितो चिज त पक्कै मन पर्दैन होला मन
पर्ने त गुलियोकै नजिकका स्वादहरूनै होला नि होइन र ? आफ्नै इक्षाले
इन्जिनियर बनेका यिनीहरूको विषयसँगै पनि साहित्य कहीं कतै जोडिएकै कारण साहित्यतिर
मन गयो होला भनेर एउटा ‘कमन सेन्स’ पनि लगाउन
सकिन्छ । आखिर मिल्दो त रहेछ नि स्वाद दुवैको ।
रिचार्डले एउटा कवि गोष्टिमा बोलेका थिए “म राति कवि र दिनमा इन्जिनियर हुँ । म रातिमा जुन कविताको कल्पना गर्छु दिनमा त्यस्तै संसारको कल्पना गरेर इन्जिनियरीङ्ग ड्रोइङ गर्छु”, वास्तवमै इन्जिनियरहरू भित्र पढ्ने बेलामा नै एउटा कवि मन जन्मिसकेको हुन्छ ।उनीहरू जनजीवनको समस्यालाई मध्यनजर राखेर आफ्नो काम गर्छन या भनौं समाज पढेर त्यही अनुसारको परिकल्पना गर्छन । समाजसँग र सामाजिक परिस्थितिहरूसँग इन्जिनियरहरू धेरै नजिक हुन्छन, यसकारण पनि उनीहरूले सिर्जना गरेको साहित्य समाजसँग बढी नजिक हुन्छ ।
एउटा कुशल इन्जिनियरले तयार परेको कलालाई हेर्याे भने भेटिन्छ, सयौ
पटक प्रयास गर्दा पनि कविले कोर्न नसकेको कविता, लेखकले धेरै
कोशिस गर्दा पनि नभेटेको कथाको पात्र, समाजको यथार्थ चित्र र भूगोलको दर्पण ।
यसकारण मलाई लाग्छ इन्जिनियरीङ्ग साहित्यको एउटा विधा हो ।
२०७० चैत ८ गतेको 'पोखरा हटलाइन'मा प्रकाशित


Post a Comment