केहि नहुनु पनि धेरै चिज हुनु रहेछ, नहुनु को पनि छुट्टै मज्जा हुदो रहेछ,
केहि चिज त नभएर
पनि आनन्द आउदोरहेछ । जस्तो की योजना
नहुनुको मज्जा । ब्यबहारिक झन्झट नहुनु को मज्जा । जुन हुने मान्छेहरुले कमै पाउछन
। हामी पनि सम्भब भएसम्म महिनामा एक दिन
सबै चिज गुमाइदिने गर्छौ तर त्यो दिन सधै यस्तो लाग्छ गुमाउनु पनि एउटा प्राप्ति
हो । हामी अक्षरयात्री बनेर अक्षरको खेतमा केहि रोप्ने घमण्डका साथ धेरै चिज
गुमाइदिन्छौ । हाम्रोमा एउटा अभियान छ अक्षरयात्रा जहाँ दौडिन जानी सक्नुभएका कम र
भर्खर हिड्न सिक्दै गर्नुभएका अलि बढी जनाहरु यात्रा गर्नुहुन्छ । ब्यबस्थापनको
जिम्मा लिएको छ गजलसंध्या पोखरा र नाबोनित साहित्य सागरले । हामी प्रत्यक महिनाको
तेस्रो शनिबार सम्भब भएसम्म पोखरा खाल्डो भन्दा बाहिर गएर मन उडाउने गर्छौ ।
अभियानको निरन्तरताकै क्रममा पुगियो बाग्लुंग जिल्लाको बलेवा भन्ने ठाउमा ।
बलेवाबाट फर्किएपछि.....
आज
बलेवा संगसंगै अलि बढी बुझिएको छ आफ्नै पनि अलिकति रहरहरु अलिकति बाध्यताहरू र
अलिकति भोगाइहरु । म धेरै गम्भीर भएको छु बलेवाको इतिहास र वर्तमानसँग अझ भनौ उसको
बाध्यता र रहरसँग। छामर्केको
डाडा बाट कुनै जमानामा सुटुक्क बलेवा खस्ने जहाज आजभोली यान्त्रिक पुलका लठ्ठाहरु
संगै बिलाएको रहेछ । मैले जहाजलाई सपना
भनिदिएं भने ? हो यहिँ निर म धेरे बेर अडिए । यत्तिकैमा टिनका पाताहरुले खियासँग
कुस्ती खेलिरहेजस्तो, कविले लेख्दा लेख्दै छोडेको कविता जस्तो पनि देखिने एउटा
घरको आगनमा पुगें । घरलाई धमिराहरुको
प्रेमपुर्वक आफ्नो शैलिमा जतन गरिराखेका थिए ।बुढो लाग्ने घर तन्नेरी स्वरमा
बोल्यो "कवी हौ?" मैले भने "होइन तर चाहन्छु","मलाई लेख
न त" घरले फेरी प्रश्न शैलीमै उत्तर दियो मैले टाउको हल्लाए मात्र । घर केहि
बताउन सुरु गर्यो । बतायो । मैले फर्कने बेला भने "कविता त म सक्दिन, पोखरा
पुगेपछि हावा सँग एउटा चिठ्ठी पठाउछु"। केहि बेर अगाडिको मेरो अन्योलता पुरा
भयो । निस्कर्ष निस्किनै हाल्यो पनि ।
बलेवाका सपनाहरु ठ्याक्कै त्यही जहाज
जस्ता त रहेछन नि होइन र ? सपना उड्न
छाडेको ठ्याकै आज २० बर्ष भएछ । यस बिचमा कति सपनाहरु गण्डकीमा आत्महत्या गरे
होलान कति सपनाहरु लामै भएपनि पैदल बाटो हुदै पारि तारे होलान अझ अलिकति त लाहुरेको
तुम्लेटको पानि संगै छचल्किएर पोखिए पनि होलान । सपनाले उडान भर्ने मैदान आज घासे मैदान
भएको रहेछ । नहोस पनि कसरि
जसका लागि सपना देखियो उनीहरु नै देखिएका
छैनन् रे त्यता तिर ।
आजपनि त्यहि मरुभूमिको वरपर केहि बोट सल्लाहरु मर्न लागेको जवानीलाई
पानि हालीकन जोगाएर बसिराखेका रहेछन सपनामा आउनेको नाममा । आजभोली चाहिं अलिकति थान सपनाहरु यान्त्रिक
पुलको रसिमा झुन्डिएरै भएपनि ओहोर दोहोर गर्न थालेका रहेछन । घर भन्दै थियो
"आखामा सपना देख्ने सहास अलिकति पलाएको छ" ।
मलाइ एक हिसाबले बलेवा ठ्याक्कै मेरै मन
जस्तो पनि लग्यो । हिजो खुला आकाशमा उड्ने बलेवा आज तार मा
घिर्सिना सिकेको रहेछ । अझ भनौ
सिक्नुपर्दो रहेछ । यो लेखिरहदा मैले आफ्नो बचपन सम्झेको छु । कतै मैले पनि
ब्यबहारिक बन्ने होडमा सपनाहरु घिसारेको त छैन ?
हिजो त्यहाबाट उडेका सपनाका
बिमानहरु कहाँ कहाँ सम्म पुगे होलान ? कतिले सम्झेका होलान त्यो मरुभूमि बनेको मैदानलाई
? अझ कहालीलाग्दो प्रश्न त किन फर्केनन् सपना बनेर उडेकाहरु ? घर भन्दै थियो
"अलि बर्ष अगाडी चाही एउटा सपना उडेर आएको थियो मलाइ सुम्सुम्याएर गयो तर
त्यो भन्दा पछाडी कहिल्यै फर्केर आएन ।" घरले परेली भत्काउदै अझ थप्यो
"पहिला त मलाया र भोट पुगेका सपना पनि बर्षौ लगाएर फर्किन्थे तर जहाज उड्न
छाडे देखि त्यहिँ पारि डाडाबाट पनि फर्किएनन । जहाँ जसरि भए पनि दुख नपाउन"।
घरको यहि कुराले नै मेरो सुरुको प्रश्नले जवाफ भेटेको थियो । सायद आँसु सुकेर होला
आजभोली घरका भित्ताहरु चर्किन थालेका रहेछन । सिमसिम पानी पर्न थाल्यो, घरले
चर्किएको भित्तामा रसाएको पानी पुछ्दै भन्यो "सायद गल्ति मेरो पनि होला है
कवि? मैले जन्म दिए सपनाहरुलाई तर सन्तोष दिन सकिन ।" आजकाल त पैसा भनेको
सन्तोष हुन्छ रे नि तिमीहरुको तिर त होइन
?" मलाई पनि अलिकति भाबुक बनायो मैले टाउको हल्लाउनु सिबाय केहि गर्न सकिन ।
मैले गल्तिको प्रसङ्ग सम्झाउदै अलिकति बोलें "एउटा सुन्दर फुल बगैचामा
फुल्नको लागि माली भन्दा बढी फूल आफै जिम्मेबार हुनुपर्ने हो जस्तो पनि लाग्छ तर
यहाँ चलन अर्कै छ माली ले फूलदिनु पर्ने । म पनि यहिँ छु बढी त के बोलुं र ?"
खै
के को आशमा हो कुन्नि पहिला हावाले जोडेको पहाडलाई ठुला ठुला रासी लगाएर वारी र
पारि जोडेको छ बलेवाले । सायद उ रसिमै भएपनि आफ्ना सपना उडाएर चाहना मेटाउन चाहन्छ
। पक्कैपनि उ बचेखुचेका सपनाहरुलाई गुमाउन चाहन्न । अझ गुमेका सपनाहरुलाई फिर्ता
बोलाउन चाहन्छ । तर घर भन्दै थियो "पानी नै नभएको खोलामा पूल बन्दा पनि खुसि
त हुनुपर्दो रहेछ नि है कवि?" घरको यो प्रश्नले मैले सायद भनेको कुरा कता कता
गलत बनाइदिए जस्तो पनि लग्यो । घरले केहि थान पुराना तस्बिरहरु निकालेर देखायो ।
कागज पुरानो भए पनि आकर्षण मरेको थिएन । घर ले भनेको त्यो दिन पछाडी त्यतिका
मान्छे त्यहाँ कहिल्यै जम्मा भएनन् अरे
भन्दै थियो तस्बिर २०४० सालको हो । बलेवामा २०४१ साल भन्दा पछाडी नियमित जहाज
उडेको छैन,२०६८ साल तिर एक जना मन्त्रीले खोइ के हो कुन्नि उद्घाटन गर्दा चढेर
गएका अरे। मलाई अहिलेको भन्दा पहिलेकै
बलेवा राम्रो लाग्यो । आखिर मलाई मात्र होइन रुखहरु भएको हरियो जंगल जो कोहिलाई पनि
राम्रो लाग्छ, कता कति क्याक्टस मात्र छाडिएको मरुभूमि त कसलाई पो राम्रो लाग्ला र
?
मैले
मेरा केहि यी अक्षरहरु सिलबन्दी गरेर घरको ठेगानामा हावासँग पठाएको छु । सायद
देखेपछी घरले केहि उत्तर पठाउला प्रतिक्षामा बसेको छु ।
२०७० चैत १५ गतेको पोखरा हटलाइनमा प्रकाशित

Post a Comment