कविता(दृष्‍टिभ्रम)

Sunday, August 4, 2013 0 comments

 

 दृष्‍टिभ्रम    

हजुरको शहरमा रहेको
दोस्रो अभाव को धरहराबाट
मैले देखेको छु

घण्टाघरको मुनी सुतिरहेको
घण्टाघर भन्दा सत्य
समयको तस्विर
दुनियाँलाई ऊपचार गर्दा गर्दा
आँफै रोगी भएको
वीर आस्पताल
बिधवा पहिरन गरेको
स्यालहरुको सिंहदरबार

त्यहीं निर उभिएको
आँखा देख्ने बहिरो न्यायधीस

मैले देखेको छु

पुरनो घरको भित्तामा जन्ती हिंडेका
कमिलाहरुको भन्दा लामो
मुटु झिकिएका यान्त्रमानवहरुको लस्कर
आकाश नै छोप्ने गरी
चिलगाडीमा उडेका हुल का हुल सपनाहरु
निधारमा हात लगाएर
आकाश तिर हेर्दै गरेका
तिनै सपना बिछ्याइएका आँखाहरु
स-साना प्रेम र भातृत्वका झुपडिहरु
ढपक्कै छेकिनेगरी ठडयाइएका
स्वार्थ र अह्मका महलहरु
बिजुली चिमको वरपर आफ्नै उज्यालो हराएर
खोज्न निस्केका थुप्रै जुनकिरिहरु

पहिला बसेर हेरें
अनी
केही नयाँ देखिन्छ कि भनेर
उठेर उचाइ बढाएं
तर
जसरी हेरे पनि
हजुरको शहर त  
हावा भरिएको रङ्गीचङ्गी बेलुन
भन्दा बढी केही देखिएन        
आफु भित्रको शुन्यतालाई
रङ्गिन पर्दाले ढाकेर हिडिरहेछ दुनियाँ
हुन त मैले
हजुरले जस्तो कालो चस्मा लगाएर
हेरेको छैन
त्यसैले
यो सब मेरो दृष्‍टिभ्रम पनि हुन सक्छ । 
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage