वर्षौ अगाडी
आँखाको चेपबाट उडेर गएका थिए, बन्दीपुर बाजेका
एक जोर जुनकिरी सपनाहरु । बिजुलीको वरपर घुम्दा घुम्दै आफ्नै प्रकाश थाहा नपाएपछि
उज्यालोको खोजीमा निस्किएका ति जुनकिरिहरु आजसम्म फर्किएका छैनन् । बाजे आज पनि
तिनै उडीगएका सपनाहरुको लागि आफैसंग लडिरहेका छन् । बेला बेलामा मृत्यु बाजेको
कानमा आएर सुमधुर सरगम सुनाउछ तर त्यति नै बेला बाजेका मस्तिस्कहरुमा आशाको हर्न
बज्ने गर्छ र मृत्युको सरगमलाई फिक्का बनाईदिन्छ । आजकाल बाजेलाई दुखले बजाएको
शंखसंग दिक्क लाग्दैन । बाजेले शंखको सरगम पनि बुझ्न सक्ने भैसकेका छन । जब जब शंख
बज्ने गर्छ उनि त्यसको तालमा आदिम युगकी अप्सरा झैँ नाच्ने गर्छन ।
बाजेलाई आफ्ना
जुनकिरी सपनाहरुको खुब माया लाग्ने गर्छ । सपना बनेर उडेका जुनकिरीहरुलाई थाहा छैन
आफ्नै बारेमा किन कि उनीहरु कहिल्यै पछाडी फर्केनन् तर बाजे सधै उनीहरुलाई अगाडी
पछाडी दुवै तिरबाट हेरिरहन्थे । त्यसैले बाजेले उनीहरुको उज्यालो चिनेका छन् ।
समयले जुन्किरिहरुको कानमा एउटा भोकको साइरन झुन्ड्याईदिएको छ र टाउकोबाट अलिक पर एउटा प्यासको लाल्टिन देखाईरहन्छ । उनीहरु साइरनको तालमा लाल्टिन भेट्न सधै सधै दौडीरहन्छन ।
उनीहरुलाई बाजेको
कुनै कुरा सुन्ने फुर्सद थिएन/छैन । एक दिन समयले प्यासको लाल्टिन निभाइदिनेछ । तब
उनीहरुले आफुलाई र आफ्नो उज्यालोलाइ चिन्ने छन् । त्यहि दिन पछुतोको डोरीमा पासो
लगाएर उनीहरुले आत्महत्या गर्नेछन ।
बाजेलाई यो सब कुरा थाहा छ । आज पनि उनि बन्दीपुर डाँडाको सबैभन्दा अग्लो ठाउमा पुगेर आकाश
छुदै एउटै प्राथाना गर्छन । "लाल्टिन निभ्नु अघिनै मेरा जुनकिरी सपनाहरु एक
पटक पछाडी फर्किदिउन ।"
अलि अलि
याद छ सानोमा सुनेको कुरा । भगवान माथि आकाशमा बस्नुहुन्छ । त्यसकारण पनि बाजे
केहि माग्नु पर्यो भने आकाश छुनलाई बन्दिपुरको सबै भन्दा माथिको डाँडोमा जान्छन ।
उमेरले उनको निधार बाट भाग्यको निशानी मेटाईसकेको छ । हातमा पनि चाउरी परेर जम्मै
रेखाहरु अस्पस्ट भैसकेका छन तर आजसम्म उमेरले उनको दिमागको कुनै पनि छाप मेटाउन
सकेको छैन ।
पानी भर्न
पधेरोमा जाँदा बज्यैसंग पहिलो पटक आँखा जुधेको कुरा पनि याद छ । बन्दीपुर गुफामा
बज्यैलाइ भेट्न जाँदा गोरुले कोदो खाएर जरिवाना तिर्न परेको कुरा पनि थाहा छ ।
बज्यैलाइ भगाएर नेपाल पुर्याएको बेलाको छटपटी, पहिलो पल्ट बाउ बन्दाको खुशी, सन्तानले साथ् छोडदाको आशा र पिडा, बज्यैले छाड्दाको मुटुको घाउ सबै कुरा दिमागमा पत्र पत्र
बनि संकलन भएर बसेका छन् ।
कहिलेकाहीं
सोच्ने गर्छन, भाग्यको रेखा
मेटाउने उमेरले किन मेटाउदैन दिमागका रेखाहरु ? सुखका बेलाहरु सम्झदा पनि अप्ठेरो लाग्छ, दुखको छण समझदा पनि गार्हो हुन्छ । बाजेलाई घरि
घरि त आफैले आफैलाई पागल घोषणा गर्दिउ कि जस्तो पनि लाग्छ तर बाजेको मस्तिस्कमा छ
नि जुन आशाको हर्न उसले सब कुरालाइ फिक्का बनाइदिन्छ र दिन्छ अर्को दिनको बिहान
देख्न सक्ने शक्ति ।
बाजे चाहन्छन उनका आँखा बाट उडेका जुन्किरिहरु कुनै दिन घुम्दै फिर्दै जुन्किरिहरुकै देशमा पुगुन र चिनुन आफैलाई । थाहा पाउन आफ्नो महत्व, छाडून प्यासको लाल्टिन पछ्याउन ।
बाजेलाइ थाहा छ
जुन्किरिहरु साना हुन्छन तर प्रकाश आफ्नै लिएर हिड्छन् । बाजेलाई जून भन्दा
जूनकिरी मनपर्छ किनकि जूनकिरी आफ्नै प्रकाशले चम्किन्छ जून अरु कसैले चम्काइदिन्छ
। बाजेका सपनाहरुले कहिल्यै यो कुरा बुझेनन् उनीहरु आफैसंग भएको कुरा भेट्नलाई
बर्षौ देखि दौडिरहे ।
तलबाट मर्स्याङदी
नदि उनलाई खुब बोलाइ रहन्छ । उनले धेरै पटक नदिसंग खबर पनि पठाएका थिए तर खबर
बोकेर गएको नदि कहिल्यै फर्केन । गएको पानी नफर्के पनि नदि सधै नयाँ बनेर बगिनै
रहयो तर बाजेका सपना कहिल्यै नयाँ बनेनन् ।
बन्दीपुर पुग्ने
हरेक गाडीले बाजेलाई चलाउने गर्छ । उनि सकेसम्म र भ्यायसम्म प्रत्यक गाडीको ढोकाबाट झर्ने प्रत्यक मान्छेलाई ध्यानपूर्वक हेर्ने गर्छन । सबैका सेता कमिजहरुमा
उनकै सपनाका दागहरु टाँसिएर रंगीचंगी भए जस्तो लाग्छ । प्रत्यकका कमिजहरुमा बाजे
आफ्नो आँखा छाडीदिन्छन् । यस्तो लाग्छ समय बाजे माथि एउटा अनौठो प्रयोग गरिरहेको छ
।
बाजेलाई कुन
समयमा त्यहाँ कुन घटना भयो सब थाहा छ । त्यसकारण पनि धेरै जना उनलाई बन्दीपुर बाजे
भन्ने गर्छन । आज पनि गाउँमा कसैको झगडा मिलाउन पर्यो भने उनलाई नै डाकिदो रहेछ ।
बुढा गाउँका प्रतिष्ठित भलाद्मी हुन् । धेरैलाई न्याय दिलाय पनि आफैलाई चाही उनले
कहिल्यै न्याय गर्न सकेनन ।
"तिन भाइ छोराहरु थिय बाबु लग्यो हावाले उडायो । जेठो छोरो
युद्दको बेलामै घर छाडेको हो अहिले मलाय छ भन्छन । माइलो भारत तिर छु भन्छ,
५ वर्ष अगाडी एउटा चिठ्ठी आथ्यो । कान्छो
छोरो.....दैबले संगै बस्न दिएन नानि, बा दाइहरुले छाडे पनि म धेरै पैसा कमाएर ल्याएर सुख दिन्छु भन्थ्यो कहाँ गयो
अत्तो पत्तो छैन..... " बोल्दा बोल्दै रोकिए । आँखाका डिलहरु भत्किए । चस्मा निकाल्दै थपे "माइलो छोरो काटी कुटी तिमि जस्तै थियो बा"
। अब त मलाइ पनि अप्ठेरो महसुस भयो ।
दौराको फेरले चस्माको सिसा पुछ्दै भने "नानि पहिले त यो बन्दीपुरबाट उडेर मर्स्याङदिमा पुगेर पौडिन पनि सकिन्छ भन्ने लाग्थ्यो तर अहिले त मर्स्याङदी यहि आएर बगाउछ कि भन्ने डर हुन्छ ।" समय र उमेरले मान्छे को सोच्ने कुरालाई पनि यसरि हल्लाइदिन्छ कि हामि सबै भ्रममै बाँचेका हौ भन्ने लाग्छ ।बाजे सुस्तरी सुस्केरा हाल्दै बोले "हेर बा यो उमेरमा बाँच्ने भनेकै त्यहि एउटा आशाले रहेछ । उमेर भइन्जेल कसैको आशा गरिएन जब आफ्नै जिन्दगीले आफैलाई छाड्यो अनि त जो देखे पनि आशा मात्रै लाग्छ ।"
हामीले बन्दीपुर
छाड्ने बेला बाजेले भने "हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेश आनन्दि मनले”


Post a Comment