कविता (चिठ्ठी)

Thursday, August 1, 2013 0 comments







    चिठ्ठी

प्रिय छोरा !
तिमीले जन्मेपछी पहिलोपटक 
देखेको हिमालको काखबाट
तिमीले पहिलोपटक 
साहारा लिएर उभिएको भित्ताको आड लगाउदै
तिमीलेनै पहिलोपटक 
समाएको कलमले 
लेख्दै छु तिमीलाई यो 
पहिलो चिठ्ठी ।
 

लेख्दिन भनेकी थिएँ
झक्झक्यायो समयले पछुतोको भुमरी देखाएर
जुन समयले बोकेको छ
आफ्नो मृत्यु भन्दा बढी तिमी टुहुरो हुने भय ।

छोरा !
तिमी गएदेखी फर्केर आएको छैन
सँगसँगै निस्केको जुनकिरी
त्यही दिन घर छाडेको गौथलीले 
फर्केर स्याहारेन आफ्नो घर
देखिएका छैनन्
यो धमिलो आकाशमा सेता परेवाहरु
 

आजभोली
मेरै छातीमा बसेर 
शिरको मोलतोल गर्दैछन मुटुहरु
खुल्न मानेका छैनन् 
लासको थुप्रो देखेर डराएका आँखाका नानीहरु
तोप्को आवाज सँगै बन्द भएका कानका जालिहरु
खुट्टाले हिँड्न छाडेको त बषौं भाईसक्यो
यही मौका छोपेर 
डसिरहेछन रोगहरुपनि
वैशाखिहरु चिरपट बनेर
आफ्नै माथी प्रहार गरिरहेछन
बैरिले लग्यो छोरा
भर्खर फक्रदैको लालिगुराँस
लाग्यो आखिर घरको चाबिपनि

 

अब चाँही मैले बुझेँ
आफ्नै मुटुको टुक्रा चुडालेर 
बगाएको रगतको खोलाले दिदोरहेनछ शान्ती
आँशु झारेर मात्रपनि जाँदोरहेनछ दुःख
आफ्नै परिवारसँग टाढिएर पाइदोरहेनछ सुख


छोरा म कमजोर भएकी छु ।
 

यदी तिमीमा
माया छ भने आमाको प्राणको
असर छ भने दशधारा दुधको
सम्झना छ भने जन्मेको कोखको,
तिमी आउ छोरा
मेरो औषधी लिएर आउ
आउ मेरो भाँचिएको बैशाखि लिएर
तिम्रो प्रतिक्षामा
उही तिम्री 
आमा नेपाली ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage